गोठालो जाँदा खुट्टा गुम्यो हात समाउने कोही भएनन्, सहाराविहीन भेगबहादुरः जोसँग बैशाखीसमेत छैन

दाङ । जस्तापाताले बारेको एउटा सानो झुपडी । झुपडीको ढोकामा झुण्डाइएको च्यातिएको कपडा । घरको ढोका बनाउनुपर्ने ठाउँमा च्यातिएको थाङ्नो हेर्दा लाग्छ- यो गाउँघरमा प्रयोग गर्ने शौचालय पो हो । तर, त्यही शौचालयजस्तो देखिने यही घरको आश्रयमा बाँचिरहेका छन् दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर-४ मा ६५ वर्षीय भेगबहादुर सुनार । एउटा खुट्टा गुमाएका भेगबहादुरको सहाराविहीन संसारको महल हो यो । त्यहीँ बसेर अहिले असारे झरीसँगै रात-दिन बिताइरहेका छन् भेगबहादुर । बाहिरबाट हेर्दा शौचालयजस्तो लागे पनि जब नजिक पुगिन्छ, तब थाहा हुन्छ, अनि मनमा प्रश्न उठ्छ, मान्छे पनि यस्तो घरमा बस्न सक्छ ? यही प्रश्न सोध्दा उनी भन्छन्, ‘यहाँ नबसेर कहाँ जाने त ? हामीजस्ताका लागि को छ र ? बाँच्दासम्म जसोतसो जिन्दगी काटिरहेको छु ।

मरेपछि सक्किगो, कसलाई केको चिन्ता ?’ म्यालडाँडा टोलमा बस्दै आएका भेगबहादुर सुनारलाई सोधिएको एउटा प्रश्नबाट दुःख पीडाले भरिएको प्रतिपश्न पनि तेर्सियो । १७ वर्षको कलिलो उमेरमा उनले आफ्नो खुट्टा गुमाएका थिए । त्यति बेलाको क्षण सम्झिँदै उनले भने, ‘बाख्रा चराउन जंगलमा गएको थिएँ, एक्कासी माथिबाट ढुङ्गा पल्टेर आयो । ज्यान जोगाउन भाग्दाभाग्दै ढुङ्गाले खुट्टा कामै नलाग्ने गरी भाँचिदियो ।’ उनलाई उपचार गराउन पोखराको अस्पताल लगियो । तर, डाक्टरहरुले खुट्टा काम नलाग्ने भन्दै काटेर फाल्नुपर्ने बताए । त्यसपछिको जिन्दगी निकै दुःखदायी रह्यो उनको ।

उनी मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘पहिला घरमा दाजु पनि थिए, उनी बाँच्दासम्म सबै रेखदेख उनैबाट भयो । मलाई कुनै दुःख भएन । अहिले दाजुको पनि मृत्यु भयो । आफ्नो पनि शक्तिकियो । काम गरेर खान सक्दैन, बुढेसकालमा सहायता दिने कोही पनि छैन
उनले दुःख पोखे । सुनारले अहिले कसैबाट सहयोग पाएका छैनन् । सहायताका नाममा केवल सरकारले दिँदै आएको अपाङ्ग भत्तास्वरुप चौमासिक २४ सय रुपैयाँ पाउँछन् । तर, यो सहायताले उनलाई न खान पुग्छ न लगाउन नै ।गहभरी आँसु लिएर उनी भन्छन्, ‘अहिले मलाई हेरचाह गर्ने मान्छेको खाँचो छ । त्यो नभए मलाई बस्ने बास र खाने गाँसको उचित व्यवस्था भइदिए खुशी हुने थिएँ । अब कति नै बाँचुला र ६५ कटिसकेँ ।’ बेसहारा भेगबहादुरका लागि बैशाखी समेत राम्रो छैन ।

दिसा पिसाब जान पनि अहिले समस्या हुने गरेको उनको भनाइ छ । अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका सवालमा थुप्रै आवाजहरु उठेपनि आफूले पाउनुपर्ने जति अधिकार पाउन नसेको गुनासो छ भेगबहादुरको । उनी भन्छन्, ‘हाम्रो नाम भँजाएर खानेहरु थुप्रै छन्, तर हामीजस्ता सहाराविहीनलाई रेखदेख गर्ने कोही भएनन् । संसार यस्तै रैछ ।’आँखा भरि आँसु पर्दै उनले भने |

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *